काठमाडौँ, साउन ३० । गृह मन्त्रालयले सह–सचिव केदार न्यौपानेको संयोजकत्वमा उच्चस्तीय राहत संकलन संयोजन समिति बनाएको छ । बाढी–पहिरो पीडितलाई राहत उपलब्ध गराउन गृहले समिति बनाएको हो ।
राहत संकलन र वितरण एकद्वार प्रणालीबाट होस् भन्नका लागि मन्त्रालयले संयोजन समिति बनाएर काम थालेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।
गृहले प्रभावित क्षेत्रमा त्रिपाल, भाँडाकुँडा, खाद्यान्न (दाल, चामल, नुन, तेल, ड्राइफुड), नयाँ लत्ताकपडा उपलब्ध गराउन इच्छुक संघसंस्था, निजी कम्पनी र व्यक्तिलाई समितिका संयोजकसँग समन्वय गर्न आग्रह गरेको छ ।
गृहले राहत संकलन समितिका संयोजक न्यौपानेको मोबाइल नं. ९८५११४००११ मा सम्पर्क गरेर राहत सामाग्रीहरु काठमाडौको थापाथलीस्थित नेपाल खाद्य संस्थानको गोदाम घर वा विश्व खाद्य कार्यक्रमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदाम घरमा रहेका गृहका कर्मचारीलाई हस्तान्तरण गर्न अनुरोध गरेको छ ।
गृह मन्त्रालयले प्रभावित २१ जिल्लामा राहत वितरणका लागि १ करोड ९८ लाख रुपैयाँ निकासा गरिसकेको जानकारी दिएको छ । गृहका प्रवक्ता सुवेदीले बाढी पहिरोबाट प्रभावित क्षेत्रमा राहत सामाग्रीहरु पठाउन थालिसकिएको र सकेसम्म कुनै अभाव हुन नदिन उपायहरु अवलम्बन गरिएको जानकारी दिए ।
यसैबीच, सूचना तथा सञ्चार मन्त्रालयले अविरल वर्षा र बाढी पहिरोबाट भएको विपत्तिको अवस्थामा सत्यतथ्य सूचना संकलन तथा सम्प्रेषण गर्न सबै आमसञ्चारका माध्यम, दूरसञ्चार सेवा प्रदायक र सरकारी निकायलाई अनुरोध गरेको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा वर्तमान परिस्थितिलाई ध्यानमा राखी बाढी पहिरोबाट भएको जनधन र भौतिक संरचनाको क्षतिका बारेमा सत्यतथ्य एवं विश्वसनीय सूचना प्रवाह गर्न पनि सबै सञ्चार माध्यमलाई आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा विपद्का बारेमा स्थलगतरुपमा समाचार एवं विवरण संकलन तथा सम्प्रेषण गर्दा जिल्लास्थित विपद् व्यवस्थापन समिति, क्षेत्रीय प्रशासन, सुरक्षा समितिसँग समन्वय गरी प्रकाशन गर्न पनि अनुरोध गरिएको छ ।
सूचना संकलनका लागि स्थलगतरुपमा खटिएका सञ्चारकर्मीलाई सूचना उपलब्ध गराउन र आवश्यक सहयोग पु¥याउन पनि मन्त्रालयले जिल्लास्थित सबै सरकारी कार्यालयलाई विज्ञप्तिमार्फत आग्रह पनि गरेको छ ।
विज्ञप्तिमा बाढी पहिरोबाट भएको क्षतिको मर्मत हुन लाग्ने समय, मर्मत हुन नसक्ने अवस्था, वैकल्पिक व्यवस्था र बाढी पहिरोले क्षति भएको स्थानमा तत्कालै निजी वा सार्वजनिक संरचना निर्माण गर्न हुने वा नहुने बारेमा समाचार सम्प्रेषण गर्न रेडियो, एफएम र टेलिभिजन लगायत सञ्चार माध्यमलाई आग्रहसमेत गरिएको छ ।
Source online patrika
0 comments:
Post a Comment