उहाँले भन्नुभयो, ‘उदाहरणका लागि रेशम चौधरीको कुरा पनि लिन सकिन्छ, यस्ता घटनामा संलग्न थुप्रै माननिय ज्युहरु संसदमा हुनुहुन्छ । तर आज म भन्न बाध्य छु चौधरी समुदायका भएका कारणले, थारु भएकै कारणले अस्पतालमा पनि नेल लगाईएको छ । यही कुरा प्रकाश सपुत र शान्ति श्री परियारमा पनि जोडिएको कुरा अवगत गराउन चाहन्छु । सरकारको गम्भीर ध्यानाकर्षण होस् ।’
‘गलबन्दी च्यातियो तिमिले तानेर’ बोलको गीत गाउने गायक प्रकाश सपुत र शान्ति श्री परियारमाथि जातीय भेदभावको दृष्टिकोणले अपमानित गर्ने र मुद्धा लगाउने काम भएको सांसद् विश्वकर्माले बताउनुभयो । सत्तारुढ दलकै सांगीतिक क्षेत्रमा आवद्ध भात्तृसंस्थामा आवद्ध शभ्भु राईले आफ्नो लय नक्कल गरेको भनी मुद्धा हालेको प्रसङ्ग उल्ल्लेख गर्दै उहाँले गाउँघरमा मेलापात जाँदा स्वत–स्फुर्त गाउने भाका नै लोकभाका भएको भन्दै सामान्य कलाकारले मन छुने गरी प्रस्तुत गरेको गीतमा नक्कल भयो भनी मुद्धा हाल्न पुग्नु लज्जास्पत भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो ‘शुम्भु राई र उनका मतियारहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई जातीय भेदभावको दृष्टिले अति निच गाली गर्नुको साथै उनलाई हत्तोत्साहीत गराउन लागि परेको देखिन्छ । त्यत्तिमात्रै होइन संविधान, कानुन र सामाजिक सद्भावको बर्खिलाप हुने गरि सिंगो दलित समुदायलाई अपमानित हुने गरि उनीहरुमाथि नीच ढंगले जातिय भेदभाव र अपमान गरेको हुनाले साईबर कानुन अन्र्तगत, जातिय छुवाछुत तथा भेदभाव कसुर ऐन २०६८ अन्र्तगत र संविधानको धारा २४ अन्तर्गत उनीहरुलाई तत्काल कारावाहीको दायरामा ल्याउन माग गर्दछु ।’
उहाँले प्रकाश सपुत विरुद्ध मुद्धा हाल्ने र सामाजिक सञ्जालमा गाली गलौच गर्नेहरुलाई कारवाहीको दायरामा नल्याए सिंगो दलित समुदाय अन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।